चितवन । माडी नगरपालिका वडा नं. १ वडा कार्यालयले स्वास्थ्य संस्थामा गई प्रसुती हुँदा ३ हजार रुपैंयासम्म पोषण र प्रोत्साहन खर्च प्रदान गर्ने भएको छ ।
वडा कार्यालयसंगै गर्दी स्वास्थ्य चौकी र वडाका महिला स्वास्थ्य स्वयम् सेविकाहरुको संयुक्त बैठकले वडाभित्रै बरुवा बजारमा रहेको गर्दी स्वास्थ्य चौकी प्रसुती केन्द्रमा प्रसुती हुँदा अन्य सरकारी अनुदानसंगै वडा कार्यालयबाट थप ३ हजार रुपैंया प्रोत्साहन तथा पोषण अनुदान उपलब्ध गराउने निर्णय गरेको हो ।
त्यस्तै, वडा नं. १ वडाबासी महिलाहरुले वडाबाहिर जुनसुकै स्वास्थ्य संस्थामा प्रसुती हुँदा पोषण खर्चबापत थप रु १ हजार प्रदान गर्ने समेत निर्णय गरिएको वडाध्यक्ष अमित कुमार लामाले जानकारी दिनुभयो ।
त्यसैगरी वडाभित्र रहेको गर्दी स्वास्थ्य चौकीमा प्रसुती हुँदा आउँदा कुनै जटिलता देखिई अन्य स्वास्थ्य संस्थामा रेफर गर्नुपरे यातायात वा एम्बुलेन्स खर्च समेत वडा कार्यालयबाटै भुक्तान गरी सुत्केरी पश्चात रु ३ हजार रुपैैंयाको पोषण र प्रोत्साहन खर्च प्रदान गर्ने निर्णय गरिएको वडाध्यक्ष लामाले बताउनुभयो ।
माडी १, बरुवास्थित गर्दी स्वास्थ्य चौकीमा बार्षिक ५० भन्दा धेरै र वडाभरीमा करीब १५० को संख्यामा प्रसुती हुनेगरेको तथ्यांक रहेको गर्दी स्वास्थ्य चौकीका प्रमुख भोलानाथ पौडेलले जानकारी दिनुभयो ।