चितवन । माडीको बघौंडामा स्थापित थारु संग्रहालय उपयोगमा नआउँदा त्यसको भवन वरपर घाँस, बुट्यान र झाडीले ढाकेको छ ।
आदिवासी थारु बाहुल्य माडी क्षेत्रमा पर्यटन प्रवद्र्धन तथा आदिवासी थारु जातीको संस्कृति र भेषभूषा संरक्षणका लागि माडी नगरपालिका र वागमती प्रदेश सरकारको सहयोगमा माडी-३, बघौंडा गाउँमा संग्रहालय स्थापना भएको हो ।
संग्रहालयमा सभाहल, प्रदर्शनी कक्ष र कार्यालय कोठाहरु रहेका छन् । बघौंडा गाउँमा थारु सामुदायिक होमस्टे सञ्चालनमा आएसंगै कहिलेकाँही थारु साँस्कृतिक कार्यक्रमका लागि सो भवन उपयोगमा आएपनि संग्रहालयमा प्रदर्शनका सामग्रीहरु नहुँदा भवन अलपत्र परेको देखिएको हो ।
हाल भवनको वरपर घाँस, झाडी र बुट्यानहरु बढेर भवन छोप्न लागेको अवस्था छ । तर संग्रहालय चालू हुन नसक्दा त्यसको सरसफाई र रेखदेखमा संग्रहालय व्यवस्थापन समिति वा सरोकारवालाहरुको ध्यान पुग्न सकेको देखिँदैन ।