देश-प्रदेश खबर पोष्ट

उम्मेदवारीको पूर्वतयारी स्वरूप रा.प्र.पा. उपाध्यक्ष पाण्डेद्वारा माडी क्षेत्रका मतदाता भेटघाट

चितवन । निर्वाचनको मिति घोषणा भइसकेको सन्दर्भमा राष्ट्रिय प्रजातन्त्र पार्टीका बरिष्ठ उपाध्यक्ष विक्रम पाण्डेले माडी क्षेत्रका मतदाताहरुसँग भेटघाट सुरु गर्नुभएको छ ।

पार्टीको प्रशिक्षण तथा विचार गोष्ठीमा सहभागी हुन चितवन आउने क्रममा पूर्व मन्त्री एवं माडी क्षेत्रका पूर्व सभासद पाण्डेले माडीका मतदातासँग भेटघाट गर्नुभएको हो ।

संघीय निर्वाचनमा उम्मेदवारीबारे स्पष्टरुपमा नेता पाण्डे आफैले केही नबोले पनि राप्रपाका कार्यकर्ताहरुले चितवन क्षेत्र नं. ३ मा पाण्डेको उम्मेदवारी रहने दाबी गर्नेगरेका छन् । निर्वाचन घोषणा भइसकेको अवस्थामा माडी पुगेर मतदाताहरुसँग भेट्नुलाई चुनावी पूर्वतयारीको रुपमा राप्रपाका नेता तथा कार्यकर्ताले बुझेका हुन् ।

यसअघि, अघिल्लो संसदीय चुनाबमा पाण्डे चितवन क्षेत्र नं. ३ मै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसंग पराजित हुनुभएको थियो । फरक परिस्थिति सिर्जना नभए आउँदो मंसिरको निर्वाचनमा समेत उहाँद्वयकै चुनाबी स्पर्धा हुने अनुमान गरिँदैछ ।

यसैबिच, नेकपा एमालेबाट माडी नगरपालिका वडा नं ३ को वडा सदस्यका उम्मेदवार रहनुभएकी तारा कुमारी महतो राप्रपा प्रवेश गर्नुभएको छ । महतोलाई राप्रपा उपाध्यक्ष पाण्डेले खादा र माला लगाई पार्टी प्रवेश गराउनुभएको सो पार्टीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

ताजा समाचार