

चितवन । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रतिनिधि सभामा फिर्ता पठाउनुभएको छ ।

विधेयकमा संघीय संसदले पुनर्विचार गर्न आवश्यक भएकाले राष्ट्रपतिले प्रतिनिधिसभामा फिर्ता पठाउनुभएको राष्ट्रपति कार्यालयले आइतबार साँझ प्रेस विज्ञप्ति जारी गरी जानकारी दिएको हो ।

१४औं दिनमा नागरिकता विधेयक प्रतिनिधि सभामा फिर्ता पठाउँदै गर्दा राष्ट्रपति भण्डारीले १५ बुँदे सन्देश समेत दिनुभएको छ । नागरिकता विधेयक अपुरो रहेको र संविधानसँग बाझिएकोले पुनर्विचार गर्न आवश्यक भएको उहाँको सन्देश छ ।

यसअघि, प्रतिनिधिसभा र राष्ट्रिय सभाले जन्मका आधारमा नेपाली नागरिकता पाएकाहरुका सन्तानले वंशजको नागरिकता पाउने र आमाको नामबाट नागरिकता लिन पाउने व्यवस्थासहित नागरिकता विधेयक पारित गरेर राष्ट्रपतिसमक्ष पठाएको थियो ।