चितवन । माडीमा निर्माण सम्पन्न भएको एक पुलको उद्घाटन तथा केहि नयाँ योजनाहरुको सामुहिक शिलान्यासका लागि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ माडी आउनुहुने भएको छ ।
हालै निर्माण सम्पन्न रौतनी खोलाको पुल उद्घाटन र सडक, पुल र तटबन्धन परियोजनाहरूको शिलान्यास कार्यक्रमहरुमा सहभागिताका लागि पूर्व प्रधानमन्त्री समेत रहनुभएका प्रचण्ड आउँदो भदौ ८ गते बुधबार माडी आउने कार्यक्रम तय भएको हो ।
बुधबार बिहान ८ बजे प्रचण्डले बनकट्टा पुलनजिक ८ करोड रुपैंया बजेटको सडक कालोपत्रे र नाला निर्माणका विभिन्न योजनाहरुको सांकेतिक शिलान्यास गर्नुहुने नेकपा (माओवादी केन्द्र)का माडी नगर सचिव नेत्र काफ्लेले जानकारी दिनुभयो ।
त्यसैगरी बिहान ९ बजे, २५ करोड रुपैंया बजेटको १२ किलोमिटर लामो कालोपत्रे सडक र ८ वटा कल्भर्ट निर्माण योजनाहरु भैरवपुर सडक (बरूवा)मा सामुहिक शिलान्यासको कार्यक्रम रहेको काफ्लेले जनाउनुभयो ।
त्यसपश्चात बिहान १० बजे माडी-६, बसन्तपुरमा रौतनी पुलको समुद्घाटन गरी बिहान ११ः३० बजे २० करोड रुपैंया बजेटको टम्टा, परुई, मगुई र चितई खोला तटबन्धन परियोजनाहरुको सामुहिक शिलान्यास माडी-९, कृष्णनगरस्थित टम्टा खोलामा हुने जनाइएको छ ।