हेर्नैपर्ने तीनवटा दोश्रो विश्वयुद्ध बिषयक उत्कृष्ट चलचित्रहरु

1.05K
SwadeshPost

एक दर्शनीय युद्ध चलचित्र : एनिमी एट् द गेट्स

केहि व्यक्तिहरु नायक बन्नैका लागि जन्मेका हुन्छन् भन्दै दोश्रो विश्वयुद्धको ऐतिहासिक तथ्यहरुका जगमा आधारित भई बनाइएको एक दर्शनीय युद्ध चलचित्र हो, ‘एनिमी एट् द गेट्स’ ।

विश्वविख्यात फ्रान्सेली चलचित्रकर्मी जीन ज्याक्स एन्नाउडद्वारा निर्देशित यस चलचित्रले द्वितीय महासमरको दौरान जर्मन आक्रमणमा ध्वस्तप्रायः पश्चिमी रुसको भोल्गा नदी छेउमा रहेको स्टालिनग्राद शहरमा भएको युद्धको कथा बोकेको छ । यसले आरम्भमा हतोत्साहित सोभियत लाल सेनाले पछि आर्जन गरेको उत्साह अनि उर्जाका कारण युरोपको सर्वशक्तिसम्पन्न जर्मन सेनाले घुँडा टेक्नु परेको विषयबस्तु उजागर गरेको छ ।

चलचित्रको कथा अनुसार स्टालिनग्रादको पराजयले देशकै पराजय निम्त्याउन सक्ने सोभियत नेता स्टालिनको बुझाइका कारण सोभियत संघ आफ्नो सम्पूर्ण शक्ति लगाई स्टालिनग्राद बचाउन चाहन्छ, किन्तु कमसल र न्युन हातहतियारको कारण रुसी लालसेनाले राम्ररी युद्ध लड्न सकिरहेको छैन । उनीहरु शत्रुपक्षसंग विद्यमान सामरिक शक्तिका कारण हतोत्साही छन् । परिस्थिती झनभन्दा झन बिग्रन थालेपछि निकिता ख्रुश्चेभ (बब हस्कीन)को प्रत्यक्ष नेतृत्वमा लालसेनाका एक राजनैतिक कमिसार ड्यानिलोभ (जोसेफ फेन्नेस)को सुझाव वमोजिम रुसी सेना र जनतामा आशाको सञ्चार गर्ने काम हुन्छ । त्यस्तै, लालसेनाका स्वयंसेवक भई काम गरिआएका भ्यासिली जेइत्सेभ (जुङ् ल)लाई निशानावाजको जिम्मेवारी दिइ खटाइएपछि उनको कार्यकौशलताका कारण थुपै्र जर्मन सेना र अधिकारीहरुको अन्त्य हुन थाल्छ । भ्यासिली, मस्को रेडियो देखि रुसी पत्रपत्रिकाहरुमा छाउँछन् । उनको प्रतिकार गर्न जर्मन सेनाले आफ्ना वरिष्ठ स्नाइपर (निशानावाज) मेजर कोइङ् (एड् ह्यारिस)लाई स्टालिनग्रादमा खटाउँछ । प्रकारान्तरमा दुई देशविचको युद्ध ती दुई निशानावाजको भीडन्तमा परिणत हुन्छ । अर्कोतर्फ भ्यासिली र ड्यानीलोभ दुवैले एउटै महिला लालसैनिक तान्या (राचेल विश्ज)संग प्रेम गर्दछन्, जसको परिणाम अचम्मलाग्दो गरी कोइङ्को अन्त्यसंग जोडिन्छ र युद्धमा सोभियत लालसेनाको विजय हुन्छ ।

युद्धका विषयवस्तु, तिगडम र कुटनीति समेटेर वनेको १३१ मिनेट लामो यस चलचित्रले कतिपय काल्पनिक घटनाहरु जोड्दै स्टालिनग्रादको युद्ध र सोभियत जनताको उच्च वलिदानी प्रस्तुत गरेको छ । भ्यासिली जेइत्सेभको नायकत्व बोकी सन् २००१ मा सार्वजनिक प्रदर्शनमा आएलगत्तै विवादित वनेको यस चलचित्रलाई विश्वभरका फरकधारका फिल्मप्रेमीहरुले मन पराएका छन् । स्वराङ्कन देखि छायाँकन अनि सम्पादन पक्ष समेत राम्रो रहेको यस चलचित्र तपाईंको फुर्सद कटाउने एक असल साथी बन्न सक्छ ।

संघर्ष र जीवनवादको पर्याय चलचित्र : ‘द पियानिस्ट’

दोश्रो विश्वयुद्धकालीन नाजी नरसंहार र ध्वंस अनि युद्धको विभीषिकाविच मानवीय संवेदनाका पक्षहरु समेटेर बनेको पोलिस चलचित्र हो, ‘द पियानिस्ट’ ।

सन् १९३९ मा जर्मनीद्वारा पोल्याण्ड कब्जा गरिए पश्चात त्यहाँ स्थित यहूदीहरु तथा कम्युनिस्टहरु माथि थोपरिएको वर्वर नाजी कत्लेआमका बिच ध्वस्तप्रायः पोलिस शहरका भग्नावशेषहरुमा लुक्दै छिप्दै र भोकै प्यासै बाँच्न सफल एक युवा यहूदी पियानोवादक ‘वाल्डिस्लभ स्ज्पील्म्यान’को यथार्थ जीवन भोगाइमा आधारित यस चलचित्रले एकैसाथ सात विधामा ओस्कार मनोनित भई सर्वश्रेष्ठ अभिनेता, निर्देशक र पटकथा लगायतका पुरस्कारहरु हात पारेको थियो । दशकौंसम्म अमेरिकामा प्रतिवन्धित रहेका पोलिस निर्देशक रोमन पोलान्स्कीद्वारा निर्देशित यस चलचित्रमा पियानोवादक स्ज्पील्म्यानको भूमिका निर्वाह गरेका छन् एड्रीन ब्रोडीले ।

चलचित्रको कथा अनुसार नाजी कव्जा पश्चात पोल्याण्डका यहूदीहरुलाई उनीहरुको घरवाट निकाली एक छुट्टै र साँघुरो स्थानमा राखी वरिपरिबाट घेराबन्दी गरिन्छ । आफ्नो जायजेथा र आम्दानीबाट बञ्चीत यहूदीहरु त्यहाँ भोक, प्यास अनि यातनाका कारण अत्यन्त कष्टकर जीवन जिउँदछन् । यसरी जीवन गुजार्न वाध्य पारिनेहरुमा एक सम्मानित पियानोवादक तथा उनको परिवार पनि हुन्छ । यस्तैमा, एकदिन महिला, बुढाबुढी र केटाकेटीहरुलाई अन्यत्रै (यातनागृहमा) लगिन्छ र श्रम गर्न सक्ने केहि यहूदी युवकहरुलाई नाजी उत्पादनको कामहरुमा खटाइन्छ, जसमा पियानोवादक स्ज्पील्म्यान पनि पर्दछन् । विस्तारै ती श्रमिकहरु नाजी अत्याचारको विरुद्ध शसस्त्र हुन सुरु गर्दछन् र भूमिगत भई नाजीहरुको प्रतिकार गर्न थाल्दछन् । स्ज्पील्म्यान पनि यस्तै समूहमा लाग्छन् र भूमिगत जीवन सुरु गर्छन्, किन्तु उनी लगत्तै गम्भीर विरामी हुन पुग्छन । युद्ध चर्क्रदै जाँदा नाजी कत्लेआम बढ्दै जान्छ । विश्वयुद्धको उत्तरार्धमा सोभियत लाल सेनाद्वारा पराजित हुँदै पछि हट्न थालेका नाजी सैनिकका एक उच्च अधिकारीले उनलाई लुकिरहेको अवस्थामा भेट्दछन् तर नाटकीय रुपमा उनलाई अन्नपानी र कपडा दिई संरक्षण गर्दछन् । सोभियत सेनाद्वारा पोल्याण्ड मुक्त भएपछि उनी वार्सा स्थित रेडियोका लागि पियानो वादक नियुक्त गरिन्छन् भने पराजित नाजी सैनिकहरुलाई युद्धवन्दी बनाइन्छ ।

निर्देशक पोलान्स्कीको व्यक्तिगत जीवनसंग मेल खाने ठानिएको यस चलचित्रले युद्धको मैदानमा परिवारप्रतिको स्नेह र प्रेम अनि भूमिगत जीवनका अवयवहरुलाई पक्रँदै जीवनवाद तथा आशावादको विगुल फुकेको छ । करीव १५० मिनेट लामो यस चलचित्र जति स्तरीय छ, त्यत्तिनै मार्मिक र हृदयस्पर्शी पनि छ । पियानोवादकको भूमिका निभाएका ब्रोडीको अतुलनीय अभिनय अनि समग्रमा प्राविधिक स्तरीयता सहितको यस चलचित्र नेपालमा सहज प्राप्य देखिन्छ ।

मानवतावादी चलचित्र : सिन्डलर्स लिस्ट

द्वितीय विश्वयुद्धको दौरान नाजी स्ट्रोम ट्रुपर्सले नृशंसतापूर्वक नरसंहार मच्चाइरहँदा एक जर्मन व्यापारीले सयौं यहूदीहरुलाई संरक्षण दिई उद्दार गरेको विषयमा निर्मित मानवताबादी चलचित्र हो – ‘सिन्डलर्स लिस्ट’ ।

विश्वविख्यात निर्देशक ‘स्टेभेन स्पिलवर्ग’द्वारा निर्देशित सिन्डलर्स लिस्टले उत्कृष्ट चलचित्र र निर्देशक संगै विभिन्न सात बिधामा ओस्कर पुरस्कार जित्न सफल भएको थियो । युद्धको कालो बादल मडारिइरहँदा पनि मानवता र हार्दिकताको अन्त्य हुँदैन भन्ने शन्देस बोकेको यस चलचित्रले दर्शकलाई दोश्रो विश्वयुद्धको झझल्को दिलाउँछ ।

चलचित्रको कथा अनुसार फाँसीवादी तानाशाह अडोल्फ हिटलरको जर्मन नाजी सेनाले सेप्टेम्वर १९३९मा दुई हप्ते युद्ध पश्चात पोल्याण्डमाथि कब्जा जमाउँदै पोलिस यहूदीहरुलाई नाजी सेना अधिकारीसमक्ष नाम दर्ता गर्न उर्दी जारी गरी दमन, अपमान र हत्याको श्रृङ्खला आरम्भ गर्दछ । औद्योगिक मजदुरका रुपमा गैर यहूदी पोलिसहरुको सट्टामा अति न्यून पारिश्रमिक दिई यहूदीहरुलाई खटाइन्छ । केहि शिक्षित तथा काम गरिरहेका यहूदी मजदूरहरुलाई नाजी सैनिकहरु आफ्नो इच्छा अनुसार गोली प्रहार गरी मार्दछन् या तड्पाउँदै यौनसाथी बनाउँदछन् । यस्तैमा सेनाका लागि भाँडाकुँडा उत्पादन गर्ने उद्योग सञ्तालन गर्न आइपुग्छन् एक ‘जर्मन राष्ट्रिय समाजवादी पार्टी’ (संक्षेपमा–नाजी) सदस्य तथा व्यापारी ‘ओस्कर सिन्डलर’ (लियम निसन) । उनी अरु नाजीहरु भन्दा फरक तथा उदार स्वभावका हुन्छन् ।

युद्धको बिभिषिका चर्कदै जाँदा यहूदीहरुमाथिको अत्याचार पनि बढ्दै जान्छ । विशेषत शोभियत रुसको दक्षिणी भेगबाट नाजी सैनिकहरु पराजित हुन थालेपछि यहूदीहरुमाथि सामुहिक कत्लेआम सुरु गरिन्छ । निहत्था यहूदी पुरुष महिलाहरुलाई निर्वस्त्र पारी रेलमा कोचेर विभिन्न यातना शिविर तथा बन्दीगृहहरुमा लगिन्छ जहाँ उनीहरुले मृत्यु कुरेर बस्नुपर्ने हुन्छ । मृत्यु ताण्डव मच्चिइरहँदा शैन्य सामग्री उत्पादन गर्ने उद्योग सञ्चालन गर्ने भन्दै व्यापारी सिन्डलर ले आफ्नी प्रीय यौनसाथी ‘हेलेन हि¥र्च’ (एम्वेथ ड्याभिट्ज) समेत करीव एक हजार यहूदीहरुको सुची तयार पारी पोल्याण्डको क्राकोउ शहरबाट आफ्नो गृहशहर ज्वीट्टाउ–ब्रिन्लीज (चेकोस्लोभाकिया) ल्याउँदछन् । नाजी सेना अधिकारी ‘एमोन गोवेथ’ (राल्फ फेन्निज) लाई प्रतिव्यक्ति चर्को घुस दिएर ल्याइएका ती यहूदीहरु सिन्डलरको नयाँ उद्योगमा सुरक्षित त रहन्छन् तर उद्योगले प्रगति गर्न भने सक्दैन । अन्त्यमा, हिटलरको आत्महत्या संगै जर्मन सेनाले आत्मसमर्पण गर्दछ र शोभियत लालसेनाद्वारा यहूदीहरु मुक्त गरिन्छन् । मुक्त यहूदीहरुलाई दिन आफूसंग थप केहि नभएको अवस्थामा सिन्डलरले सबैलाई एक बोत्तल भोड्का र अढाई मिटर कपडा उपलब्ध गराई मजदूर यहूदीहरुसंग भावपूर्ण विदावारी हुन्छन् ।

चलचित्रको अधिकांश भाग ‘फ्ल्यास व्याक’ शैलीमा श्यामश्वेत रङ्गमा प्रस्तुत गरिएको छ । करीव १९५ मिनेट लामो यो चलचित्रले पटक पटक दर्शकको जीउ सिरिङ्ग गराउने मात्रै होइन, साम्राज्यवादी फासिस्टहरुको नाङ्गो स्वरुप उजागर समेत गरिदिन्छ । छाँयाकन, स्वराङ्कन, सम्पादन तथा सांगितिक पक्ष समेत उत्कृष्ट रहेको यो चलचित्र एउटा दर्शनीय तथा संग्रहणीय श्रव्यदृष्यको रुपमा आएको छ ।

SwadeshPost