चितवन । पूर्वप्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माडीका सबै जनताहरूको मुहारमा खुसी ल्याएरै छाड्ने बताउनुभएको छ ।
बुधबार माडी-६, बसन्तपुरमा रौतनी खोलाको पुल समुद्घाटन समारोहमा प्रमुख अतिथिका रुपमा बोल्दै माडी क्षेत्रका सांसद समेत रहनुभएका प्रचण्डले माडीको छिटो विकास होस् भन्ने चाहेको र रकमान्तर गरी वा प्राथमिकता दिएरै माडीमा बजेट पार्दै आएको बताउनुभयो ।
निकुञ्जभित्र बाटो निर्माण हुने, बिजुलीको नयाँ केबुल पनि बिछ्याइने, बाँदरझुलाबासीको स्थायी बसोबासका लागि यसै हप्ताभित्रै लालपूर्जा वितरण हुने तथा माडीका भूमिहीन सुकुम्बासीहरुलाई समेत पूर्जा वितरण गरिने उहाँको भनाई थियो ।
चितवन राष्ट्रिय निकुञ्जलाई जनता र जनावर दुबैको हीतअनुकूल द्वन्दरहित बनाउन ऐन शंसोधनको प्रक्रिया पुरा गरिने भन्दै उहाँले माडीमा शिक्षाको विकास हुँदै गएको र विद्युतिकरणका हिसाबले स-सानो क्रान्ति नै भएको बताउनुभयो ।
नारायणी नदीमा केही दिनभित्रै नयाँ पुल शिलान्यास हुने उहाँले जानकारी दिनुभयो । एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो निर्वाचन क्षेत्रमा कसरी असफल बनाउने भनी षड्यन्त्र गरेको उहाँको आरोप थियो ।