चितवन । माडीमा १८ घर परिवारलाई तत्कालै सुरक्षित आवासको व्यवस्थापन गर्नुपर्ने भएको भन्दै माडी नगरपालिकाका पूर्व नगरप्रमुख ठाकुर प्रसाद ढकालले सहयोगको अनुरोध गर्नुभएको छ ।
सामाजिक सञ्जालमार्फत छानामा प्लास्टिक र त्रिपाल राखिएका केहि झुप्रा घरहरुको फोटो सार्वजनिक गर्दै नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य समेत रहनुभएका ढकालले तत्कालै १८ वटा घरहरु आवश्यक परेको बताउनुभएको हो ।
विगतमा आफू नगरप्रमुख हुँदा सरकारी एवं गैरसरकारी सहयोगबाट घरहरु निर्माण गरी दिएको भन्दै ढकालले हाल १८ वटा घर निर्माणका लागि स्वदेश तथा प्रवासमा रहेका केहि सहयोगी व्यक्तिहरुबाट सकारात्मक प्रतिक्रिया आएको र सहयोग गर्न इच्छुक अरुले पनि सहयोग गर्न अनुरोध गर्नुभएको छ ।
यसैबिच, ढकालको अनुरोध सार्वजनिक भएसंगै यसप्रति मिश्रित प्रतिक्रिया आएको छ । कतिपयले प्रस्ताव सकारात्मक रहेको बताएका छन् भने कतिपयले १८ वटा घर नगरपालिका आफैले बनाउन सक्ने भएकाले सहयोग अभियान चलाउन आवश्यक नपर्ने पनि बिचार व्यक्त गरेका छन् ।