चितवन । अमेरिकास्थित एन.आर.एन. नन रेसिडेन्ट नेपाली एशोसिएसनले माडीको आधारभूत विद्यालय रतनी धोबाहाका लागि एकजना स्वयम्सेवक शिक्षक राख्न मासिक रु २० हजार प्रदान गर्ने भएको छ ।
एसोसिएसनले विद्यालयलाई एक पत्र पठाउँदै आगामी बर्ष कक्षा ६ सञ्चालनको तयारी गरेको सो विद्यालयलाई सघाउन एकजना स्वयम्सेवक शिक्षकलाई दिन पुग्नेगरी मासिक रु २० हजारका दरले एक बर्षसम्म रकम पठाउने जनाएको हो ।
यसअघि सो संस्थाले सोही विद्यालयका प्रधानाध्यापक वीरेन्द्र महतोलाई अन्तर्राष्ट्रिय शिक्षा सेवा पुरस्कारबाट सम्मानित गरेको थियो । विद्यालयको नमुना शैक्षिक काम र प्रधानाध्यापकको लगावका कारण विद्यालयलाई माथिल्लो कक्षा सञ्चालनमा सहयोग गरेको जनाइएको छ ।
शैक्षिक क्षेत्रमा उदाहरणीय काम गर्दैजाँदा माडी नगरपालिकाबाट नमूना विद्यालय घोषित सो आधारभूत विद्यालयमा मुख्यतः थारु, मधेशी, मुस्लिम र अन्य बिपन्न वर्गका विद्यार्थीहरुले गुणस्तरीय शिक्षा हासिल गरिरहेका छन् ।