चितवन । माडीका चेपाङ समुदाय आफ्नो सबैभन्दा ठूलो पर्व छोनाम न्वागी मनाउने बेला घरबस्तीमा छिरेको बाढीबाट प्रभावित भएका छन् ।
गएरातीबाट परेको अविरल बर्षासंगै आएको बाढीका कारण माडी-७ र ८ मा रहेका चेपाङका केहि घरहरुमा बाढी पसेको हो । परुई र टुनामुना खोलामा आएको बाढी चेपाङ बस्तीमा प्रवेश गर्दा माडी ७ का १५ घरधुरी र माडी ८ का एक दर्जन घरधुरी बाढीपीडित हुनुपरेको चेपाङ अगुवा छवि चेपाङले जानकारी दिनुभयो ।
बाढीले चेपाङका घरभित्र रहेका सामानहरु बगाउनुका साथै घरहरु हिलाम्य भएका छन् । राती ठूलो बाढी आएपनि हाल (यो समाचार पोस्ट गर्दा) बाढीको पानी केहि कम भएको चेपाङले जनाउनुभयो । चाडबाडको दिन ठूलो बाढी आउँदा आफूहरु प्रभावित हुनुपरेको उहाँको भनाई थियो ।
यसैबिच, बुधबार चेपाङ जातीको सबैभन्दा ठूलो चाड छोनाम न्वागीको अवसरमा चितवन सहित वागमती प्रदेशका ३ वटा जिल्लामा सार्वजनिक बिदा दिइएको छ । अन्नबाली भित्र्याई चेपाङहरुले नयाँ बर्षका रुपमा यस पर्वलाई धुमधामसँग मनाउने गर्दछन् ।