चितवन । माडी नगरपालिकाले कक्षा १ देखि स्नातक तहसम्म अध्ययनरत विद्यार्थीहरुलाई अध्ययनमा सघाउन यसबर्ष पनि विभिन्न छात्रवृत्ति वितरण गर्न लागेको छ ।
नगरपालिकाले कक्षा १ देखि १२ सम्म अध्ययनरत आर्थिक रुपमा बिपन्न विद्यार्थीहरुलाई सम्बन्धित शैक्षिक संस्थामार्फत नै छात्रवृत्ति वितरणको व्यवस्था मिलाएको हो ।
त्यसैगरी, कक्षा १ देखि १२ सम्म अध्ययनरत दराई, बोटे, चेपाङ, कुमाल र माझीजस्ता सीमान्तकृत र लोपोन्मुख समुदायका विद्यार्थीहरु र अपांगता भएका विद्यार्थीहरुलाई पनि छात्रवृत्तिको व्यवस्था गरेको नगरपालिकाले जनाएको छ ।
यसबाहेक कक्षा ११ र १२ मा अध्ययनरत दलित विद्यार्थी, शहीद तथा बेपत्ता र द्वन्द प्रभावित परिवारका विद्यार्थी एवं एकाघरका दुई छोरी साथै स्नातक तहमा अध्ययनरत छोरी बुहारीहरुलाई पनि छात्रवृत्तिको व्यवस्था रहेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुष्पराज ढकालले जनाउनुभयो ।
छात्रवृत्ति पाउनका लागि विद्यार्थीहरुले एक महिनाभित्र सम्बन्धित शैक्षिक संस्थामा आवेदन गर्नुपर्ने उहाँले जानकारी दिनुभयो ।