चितवन । माडी नगरपालिकाको कार्यपालिका बैठकले थारुहरुको पर्व जितियाका अवसरमा नगरपालिकामा बिदा दिने निर्णय गरेको छ ।
मंगलबार सम्पन्न कार्यपालिका बैठकले आउँदो असोज २ गते परेको जितिया पर्वको अवसरमा माडी नगरक्षेत्रमा सार्वजनिक विदा दिने निर्णय गरेको कार्यपालिका प्रवक्ता डण्डपाणी पौडेलले जानकारी दिनुभयो ।
स्वदेशसंग कुराकानी गर्दै प्रवक्ता पौडेलले बैठकबाट आ.व. २०७९/८० को सम्पूर्ण योजना तथा कार्यक्रमहरु कार्यान्वयन सुरु गर्ने, नगरपालिकाको कृषि र पशु कार्यक्रम सञ्चालन सम्बन्धी कार्यविधीहरु पारित गर्ने तथा विभिन्न सहयोगापेक्षीहरुलाई आर्थिक सहयोग गर्ने समेत निर्णय भएको जनाउनुभयो ।
त्यस्तै, बैठकले ‘घ’ वर्गका दुईवटा कन्स्ट्रक्सन कम्पनीलाई ईजाजत दिने, चितवन उद्योग संघ माडी इकाईलाई जमिन खोजी गर्न सहजिकरण गर्ने र वडा नं. ५ का भूमिहीन दलितहरुलाई जग्गाधनी पूर्जा वितरण गर्न भूमि आयोगलाई सिफारिस गर्ने निर्णय गरेको जानकारी दिनुभयो ।