

चितवन । भूमि आयोग चितवनले शुक्रबार लालपुर्जा वितरणको तयारी गर्दा निर्वाचन आयोगले लालपुर्जा वितरण कार्य तत्काल रोक्न विहीबार राष्ट्रिय भूमि आयोगलाई निर्देशन दिएको छ ।

आयोगले भदौ ३१ गते (आज) शुक्रबार जगतपुरमा ३०० र माडी ५मा ५६ वटा लालपूर्जा वितरणको तयारी गरेको थियो । लालपूर्जा वितरणका लागि माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड चितवन आउने कार्यक्रम निर्धारण भइसकेको पूर्वसन्ध्यामा विहीबार साँझपख आयोगले काम रोक्न निर्देशन दिएको भूमि आयोग चितवनका अध्यक्ष बद्री तिमील्सिनाले बताउनुभयो ।

आयोगले पहिलो चरणमा माडी ५का ६३ जना भूमिहीन दलितहरुको पूर्जा तयार पारेपनि त्यसमध्ये ७ जनाको अन्यत्र जमिन देखिएपछि ५६ जनालाई वितरण गर्ने तयारी गरेको अध्यक्ष तिमिल्सिनाको भनाई छ ।

चितवनभर ९५७ वटा लालपूर्जा तयार रहेको बताउँदै उहाँले पूर्जामा भूमिहीन दलितहरुको बायोमेट्रिक (औंठाछाप) समेत भइसकेकाले निर्वाचन आयोगको निर्देशन बमोजिम अब निर्वाचन पछि वितरण गरिने जनाउनुभयो ।
आसन्न आमनिर्वाचनमा स्वच्छता र निष्पक्षताका लागि भन्दै निर्वाचन आयोगले निर्वाचन सम्पन्न नभएसम्म आफू र आफ्नो मातहतबाट हुने जग्गा वितरण सम्बन्धी निवेदन लिने, जग्गा नापजाँच गर्ने र जग्गाको निस्सा तथा लालपुर्जा वितरण गर्ने लगायतका सम्पूर्ण कार्य तत्काल स्थगन गर्न राष्ट्रिय भूमि आयोगलाई निर्देशन दिएको हो ।