चितवन । बाढीका कारण चेपाङ बस्ती जोखिममा परेसंगै माडी नगरपालिकाले परुई खोलाको पानीको बहाव बदलेको छ ।
बिहान मध्यपूर्वी माडीको देबेन्द्रपुरस्थित परुई नदीमा बाढी आउँदा देबेन्द्रपुरस्थित चेपाङ बस्तीमा पानी पसेको थियो । खोलामा तटबन्धन हुन बाँकी रहेको भागमा केहि कटान समेत गरेसंगै जोखिममा परेको बस्ती बचाउन नगरपालिकाले जे.सि.बी. परिचालन गरेको हो ।
बाढीको बहाव बदल्न जे.सि.बी. लगाउने क्रममा माडीका कार्यबाहक नगरप्रमुख खेमप्रसाद महतो, निवर्तमान नगरप्रमुख ठाकुर प्रसाद ढकाल, वडाध्यक्ष चन्द्रा बानियाँ, कार्यपालिका सदस्य कमल भुजेल, वडा सदस्य ढाकामोहन तिमिल्सिना, नगरपालिकाका विपद् सम्पर्क व्यक्ति गोबिन्द न्यौपाने, नेपाली काँग्रेसका नेताहरु कमल भुसाल, शोभाखर चापागाईं र छबिलाल भट्टराई लगायतको समूह परुई खोला पुगेको थियो ।
परुई खोलाको माथिल्लो तटीय क्षेत्रमा हालसम्म ५०० मिटर तटबन्धन भइसकेपनि बस्ती नजिकको क्षेत्रमा करीब ३०० मिटर तटबन्धन गर्न बाँकी रहेको अवस्था छ । बाँकी भागमा तटबन्धनका लागि २ करोड रुपैंया विनियोजन रहेकाले बर्षालगत्तै चेपाङ बस्ती सुरक्षित हुने निवर्तमान नगरप्रमुख ढकालले जानकारी दिनुभयो ।