प्रहरीसंगै झै-झगडा र हातपात गरेको भन्दै माडी प्रहरीले ३ जना युवकहरु बिरुद्ध अभद्र व्यवहार मुद्दा दायर गरेको छ ।
मंगलबार राती करीब ९ः३० बजे माडी-१, बनकट्टास्थित रिउ पुल छेउमा रोकी राखेको ना.४च. ९४०५ नम्बरको बोलेरो पिकअप गाडीभित्र रहेका तीनजना युवाहरुलाई सोधखोज गर्दा युवाहरुले प्रहरीलाई गाली-गलौज र हातपात समेत गरी घाइते बनाएको ईलाका प्रहरी कार्यालय माडीको जिकीर छ ।
सो क्रममा माडी १ निवासी बर्ष ४१ का गोबिन्द लामिछाने, बर्ष २६ का समिर विश्वकर्मा र बर्ष १८ का रोशन महतोलाई नियन्त्रणमा लिई अभद्र व्यवहार मुद्दामा जिल्ला चलान गरेको माडी प्रहरीले जनाएको छ ।
उता, स्थानीयबासी र युवाहरुको परिवार सदस्यहरुले भने प्रहरीले अनावश्यक रुपमा हातपात र बल प्रयोग गरेको दाबी गरेका छन् । रातीको समयमा गस्तीमा आएको प्रहरीले नै युवाहरुसंग अभद्र व्यवहार र हातपात गरेको उनीहरुको भनाई छ ।