चितवन । दुई दिनदेखि अनवरत हल्का र मध्यम बर्षा भइरहेको माडी क्षेत्रमा बिहीबार बिहानपख परेको भारी बर्षाले सतर्कताको तह भेटेको छ ।
पछिल्लो २४ घण्टामा माडीको बगहीँस्थित बर्षामापन केन्द्रमा ११९.८ र बनकट्टास्थित बर्षामापन केन्द्रमा ११२ मिलिमिटर (यो खबर पोस्ट गर्दाको समयमा) बर्षामापन भएको हो ।
बर्षाका कारण रीउ, मगोई, चितई लगायतका खोला र खहरेहरुमा पानीको सतह बढेको र यातायात सेवा अवरुद्ध भइको छ । यसबाट दशैंको टिका सकेर फर्किन चाहेका वा अन्यत्र टिका लगाउन जानलागेकाहरु समेत प्रभावित भएका छन् ।
चितवनमा अविरल वर्षाका कारण नारायणी नदीमा आएको बाढीले सतर्कताको तह पार गरेको छ । यो समाचार पोष्ट गर्दा देवघाटमा नारायणी नदीको प्रवाह सतर्कताको तह ७.३ भन्दा माथि ७.४८ मिटर पुगेको छ भने पानीको सहत बढ्ने क्रममा रहेको छ ।
यसैबिच, लगातारको बर्षाका कारण खोला खहरेहरुमा आउनसक्ने बाढीजन्य जोखिमबाट बच्न आवश्यक सतर्कता अपनाउन माडी नगरपालिकाले आग्रह गरेको छ । यो समयमा बाढीले बगाएर ल्याएको दाउरा समात्ने, माछा मार्ने र पौडी खेल्ने लगायतका जोखिम कार्यहरु नगर्न र विपत्ति आइपरेमा तत्कालै सुचना प्रवाह गर्न नगरपालिकाका बिपद् श्रोतव्यक्ति गोविन्द न्यौपानेले अनुरोध गर्नुभयो ।