चितवन । लगातारको बर्षाका कारण चितवन र नवलपुर वरपरका क्षेत्रहरुमा डुबान हुन थालेको छ ।
नारायणी नदीमा आएको बाढीले नवलपुरको गैडाकोट किनारका दर्जनौं घर डुवानमा परेका छन् । नारायणी नदीमा पानीको प्रवाहले खतराको तह पार गरेको छ । नदी तटिय क्षेत्रका बासिन्दालाई सुरक्षित रहन आग्रह गरिएको छ ।
उता, पूर्वी चितवनको सौराहामा राप्ती नदीमा आएको बाढी बस्तीमा प्रवेश गरेको छ । नदी किनारमा रहेका रेष्टुरेन्टहरुमा पानी पस्न थालेपछि व्यवसायीहरुले सामान ओसार्न थालेका छन् ।
पश्चिमी चितवनका केहि क्षेत्रहरु समेत डुबानमा परेका छन् । भरतपुर-२६, सिसैमा बाढी बस्न थालेपछि स्थानीय दुई परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ ।
त्यस्तै, अविरल वर्षाका कारण ठाउँठाउँमा पहिरो खसेपछि पूर्वी नवलपरासीको पहाडी क्षेत्रका बुलिङटार र बौदिकाली गाउँपालिका सडक सम्पर्कबाट विच्छेद भएका छन् । अहिले पनि निरन्तर वर्षा भइरहेकाले नारायणी र यसको शाखा नदीहरुको बहाब अझै बढ्दै जाने जल तथा मौसम विज्ञान महाशाखाले जनाएको छ ।