चितवन । पोखरामा सञ्चालन हुन लागेको नवौं राष्ट्रिय खेलकूद प्रतियोगितामा माडीका दुई जना खेलाडीहरु सहभागी हुँदैछन् ।
प्रतियोगितामा माडी माध्यमिक विद्यालय, बसन्तपुरकी छात्रा श्रृष्टि श्रेष्ठले दौड तथा लङजम्पमा र दिवाकर स्मृति बहुप्राविधिक शिक्षालयका छात्र ललित राउतले सर्टपुटमा स्पर्धा गर्नुहुनेछ । उहाँद्वय बागमती प्रदेशबाट छनौटमा परी राष्ट्रिय खेलकूदमा सहभागी हुन लाग्नुभएको हो ।
माडीबाट चार दशकपछि राष्ट्रिय खेलकूदमा सहभागिता रहन लागेको हो । यसअघि बि.सं. २०४१ सालमा राष्ट्रिय खेलकूदमा माडी चैनपुरका खेलाडी (हाल एथलेटिक्सका राष्ट्रिय प्रशिक्षक) कान्ति महतोको सहभागिता रहेको थियो ।
यसैबिच, माडीका नगरप्रमुख ताराकुमारी काजी महतोले खेलाडीद्वयलाई बिदाई गर्नुभएको छ । महतोले शनिबार बिहान उहाँद्वयलाई टिका र खादा लगाई सफलताको शुभकामना सहित बिदाई गर्नुभएको हो । (फाइल फोटो)