चितवन । पाँचदलीय गठबन्धनबाट चितवन ३ का प्रतिनिधीसभा उम्मेदवार डा. भोजराज अधिकारीले माडी र चितवनमा प्रचण्डको बाँकी सपना पुरा गर्न आफू लागिपर्ने बताउनुभएको छ ।
नेकपा(माओवादी केन्द्र), माडी नगर समितिको आयोजनामा माडीको बसन्तपुरमा सम्पन्न बिस्तारित बैठक एवं प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै डा. अधिकारीले निकुञ्जभित्र कालोपत्रे बाटो, माडीका नदी तटबन्धन, भौतिक बिकास निर्माण, जनताको आर्थिक समृद्धि र स्वरोजगार तथा विशेषज्ञ सहितको मोबाइल अस्पताल लगायतका ठूला योजनाहरु अगाडि बढाउने बताउनुभएको हो ।
सो गठबन्धनबाट प्रदेशसभा उम्मेदवार ठाकुर प्रसाद ढकालले माडीमा बाँकी रहेका योजना र कामहरु अगाडि बढाउने तथा शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन एवं भौतिक विकासमा थप काम अगाडि बढाउने बताउनुभयो । पार्टी अध्यक्ष प्रचण्ड माडीका जनतासंग भेटका लागि आउन लाग्नुभएको पनि उहाँले जानकारी दिनुभयो ।
कार्यक्रमलाई सम्बोधन गर्दै माओवादी केन्द्रका पोलिटब्युरो सदस्य सुर्य सुवेदी ‘पथिक’ले देशैभर ध्यान दिन पाउने भएकाले प्रचण्ड गोर्खा जानुभएको जिकीर गर्दै प्रचण्डले चितवनलाई दिने योगदानमा कमी नरहने बताउनुभयो ।
माओवादी केन्द्रका माडी नगर अध्यक्ष प्रभु प्रसाद महतोको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा पार्टीका केन्द्र, प्रदेश, जिल्ला र स्थानीयस्तरका नेताहरु एवं उल्लेख्य संख्यामा कार्यकर्ताहरु सहभागी रहेका थिए ।