चितवन । नेपाली काँग्रेसका क्षेत्रीय सभापति लालबहादुर दवाडीले आउँदो निर्वाचनमा गठबन्धनका उम्मेदवारहरुलाई जिताउनु पार्टीको जिम्मेवारी रहेको बताउनुभएको छ ।
माडी-६, कल्याणपुरस्थित स्व. कर्ण बहादुर घर्ती स्मृति प्रतिष्ठानको सभाहलमा सम्पन्न नेपाली काँग्रेस माडी नगर समितिको बिस्तारित बैठकलाई प्रमुख अतिथिका रूपमा सम्बोधन गर्दै क्षेत्रीय सभापति दवाडीले पार्टीको निर्देशन अनुसार आफ्ना उम्मेदवारलाई बिजयी गराउन आम नेता तथा कार्यकर्ता अनुशासनमा रही लाग्नुपर्ने बताउनुभएको हो ।
कार्यक्रममा मुख्यतः आगामी मंसिर ४ को निर्वाचनलाई मध्यनजर राखेर गठबन्धनलाई कसरी सहयोग गर्ने, आन्तरिक चुनाव प्रचार-प्रसार समिति र अनुगमन समिति कहिले निर्माण गर्ने लगायतका विषयमा काँग्रेसका नेता तथा कार्यकर्ताको सुझाव र बिचार संकलन गरिएको थियो ।
कार्यक्रममा काँग्रेसका चितवन ३(ख) का प्रदेश सभापति शोभाखर चापागाईं, महासमिति सदस्य सबिता बराल, नगर समितिका संयोजक छबिलाल भट्टराई, माडीका नगर उप-प्रमुख खेम प्रसाद महतो लागयत माडी काँग्रेसका सबै जिम्मेवारी पदाधिकारीरुको सहभागीता रहेको कार्यक्रमका सभापति समेत रहनुभएका नगर सभापति कोमलनाथ भुसालले जानकारी दिनुभयो ।