चितवन । निकुञ्ज छेउका माडीका केहि गाउँहरुमा काट्न तयारी अवस्थामा रहेको धानबालीमा गैँडा र हात्ती पसेर नष्ट गरिदिने गरेको छ ।
माडी नगरपालिकाका वडा नम्वर १, २ र ३ का विभिन्न क्षेत्रमा किसानले लगाएको धानबाली गैँडा र हात्तीले नष्ट गरिदिने गरेको हो । सो क्षेत्रमा बर्सेनी निकुञ्जबाट आउने वन्यजन्तुका कारण बाली पूरै भित्र्याउन नपाइने गरेको किसानहरुको गुनासो छ ।
माडीका नगरप्रमुख ताराकुमारी काजी महतोले निकुञ्जको सीमा क्षेत्रमा दैनिकजसो वन्यजन्तुले धनजनको क्षती गरिरहेको र संधैँ त्रासमा बस्नुपर्ने बाध्यता रहेको भन्दै मानव र वन्यजन्तुको द्वन्द्व न्यूनीकरणका लागि योजनाबद्ध काम हुन नसक्दा समस्या भएको बताउनुहुन्छ ।
चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यले चारैतिर निकुञ्जले घेरेका र वन्यजन्तुलाई बस्ती पस्न रोक्न बनाइएका संरचनाले प्रभावकारी काम नगर्दा वन्यजन्तुले माडीमा सबैभन्दा धेरै क्षति पुर्याउने गरेको स्वीकार्नुहुन्छ । निकुञ्जले नगद राहत भने दिने गरेको उहाँको भनाई छ । (सम्पादित फोटो)