चितवन । दर्जनौं व्यक्तिबाट करोडौं पैसा उठाई फिर्ता नदिएर ठगी गरेको भन्दै माडीमा होटल सञ्चालक एक परिवारबिरुद्ध जिल्ला प्रशासन कार्यालय चितवनमा उजुरी दायर भएको छ ।
माडी नगरपालिका-३, बसन्तपुरमा अशोक होटल एण्ड लजको नामबाट व्यवसाय सञ्चालन गर्दै आएका बर्ष ५२ का रुद्र खनाल, उनकी श्रीमती बर्ष ४६ का लक्ष्मी खनाल तथा उनीद्वयका छोरा बर्ष २५ का अशोक खनाल र छोरी बर्ष २२ का अस्मिता खनाल बिरुद्ध ठगी उजुरी दायर भएको हो ।
सो परिवारले विभिन्न मितिमा फरक फरक बहानामा दर्जनौं व्यक्ति र केहि वित्तिय संस्था समेतबाट रकम लिई सम्पर्क बिहीन भएको भन्दै चारैजनाको मोबाइल नम्बर सहित उजुरी परेको हो ।
खनाल परिवार गत भदौ २४ गतेदेखि पैसा दिनेहरुको सम्पर्क एवं होटलमा नआई सम्पर्क बिहीन रहेको बताइन्छ । सो परिवारको स्वामित्वमा रहेको बसन्तपुर बजारस्थित होटल सहितको घरमा स्थानीयले ताला लगाई त्यसको चाबी माडी ३ वडा कार्यालयमा बुझाएका छन् ।
पैसा दिएका व्यक्तिहरु हाल प्रहरी, प्रशासन र पत्रकारको सहयोगमा सम्पर्क विहीन परिवारको खोजीमा रहेका छन् । खनाल परिवार हाल भारतको कुनै ठाउँमा लुकिछिपी बसिरहेको उनीहरुको आशंका छ । (फोटोः सम्पर्कविहीन भएको आशंकित खनाल परिवार)