चितवन । माडी नगरपालिका र मातहतमा वडा कार्यालयहरुमा विध्युतिय हाजिरी प्रणाली (ई-एटेण्डेन्स) जडान भई प्रयोगमा आएको छ ।
नगर कार्यपालिका कार्यालयसंगै ९ वटै वडा कार्यालयहरुमा रेटिना र बायोमेट्रिक प्रणालीबाट कार्यालयमा हाजिरी भएको र बिदा भएको रेकर्ड राख्ने विध्युतिय प्रणाली जडान भई कार्यान्वयनमा आएको माडीका प्रमुख प्रशासकीय अधिकृत पुष्पराज ढकालले जानकारी दिनुभयो ।
त्यसैगरी कक्षा ८ र सो भन्दा माथि शिक्षण हुँदै आएका सबै सामुदायिक विद्यालयहरुमा समेत सो प्रणाली कार्यान्वयनमा ल्याइएको नगर शिक्षा प्रमुख समेत रहनुभएका ढकालले बताउनुभयो ।
विध्युतिय हाजिरी प्रणाली लागु भएसंगै कर्मचारी र शिक्षकहरु नियमित समयमा उपस्थित हुने र समयको परिपालना गर्ने उहाँको विश्वास छ । सो प्रणालीबाट लिइएको हाजिरी रेकर्ड कर्मचारीको कार्यसम्पादन मुल्यांकनका लागि समेत सहयोगी हुने उहाँले बताउनुभयो ।