चितवन । पाँचदलिय गठबन्धनका उम्मेदवारहरु जिताउन गठबन्धन सम्बद्ध बुद्धिजीवी र पेशाकर्मीहरु सक्रिय भएका छन् ।
गठबन्धन सम्बद्ध चितवनका पेशाकर्मी र बुद्धिजीवीहरुले माडीको बसन्तपुरस्थित होटल प्याराडाइजमा बृहत् भेला आयोजना गरी गठबन्धनका उम्मेदवारहरुको पक्षमा सक्रियता देखाएका हुन् ।
भेलालाई सम्बोधन गर्दै नेकपा (माओवादी केन्द्र)का नेता सुर्य सुवेदी (पथिक) जनताको माग र आवश्यकता पुरा गर्न गठबन्धन अघि बढेको बताउनुभयो ।
त्यस्तै, काँग्रेस नेता एवं पूर्व सभासद् रामकृष्ण घिमिरेले देशभर गठबन्धन भएकाले असन्तुष्टि सार्वजनिक गर्नु अहिले ठिक नभएको बताउँदै सबैले त्याग गरेको र त्यसको ईतिहासले मुल्यांकन गर्ने बताउनुभयो ।
कार्यक्रमलाई सम्बोधन गर्दै चितवन ३ का प्रतिनिधीसभा उम्मेदवार डा. भोजराज अधिकारीले उमेदवारको मुल्यांकन गरी मत दिन आग्रह गर्दै विकास र परिवर्तनको मुद्धा अघि बढाउने योजना आफुसँग मात्रै रहेको बताउनुभयो ।
त्यस्तै, नेपाली कांग्रेस चितवनका सभापति राजेश्वर खनालले राष्ट्रिय परिस्थितिले गठबन्धन निर्माण भएको बताउँदै संसद विघटन र प्रतिगमनका विरूद्व एकताबद्ध भई आन्तरिक असन्तुष्टि र द्वन्द्व अन्त्य गरी गठबन्धनलाई बलियो बनाउनुपर्नेमा जोड दिनुभयो ।
त्यसैगरी, हालै स्वदेश आउनुभएका एनआरएनए अमेरिकाका अध्यक्ष एवं माडीका काँग्रेस नेता बुद्विसागर सुवेदीले विदेशीनुका समस्याको समाधान निकाल्न सुझाव दिनुभयो ।
त्यस्तै, नेपाल बुद्धिजीवी संगठनका नेता बिनोदखण्ड तिमिल्सिनाले प्रतिगमन संस्थागत गर्नेलाई पाठ सिकाउनुपर्ने समय आएको भन्दै बाम लोकतान्त्रिक गठबन्धनबाट मात्रै राजनीतिक कोर्ष अघि बढ्न सक्ने बिचार व्यक्त गर्नुभयो ।
कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा.विजयचन्द्र आचार्यले निर्वाचन क्षेत्र नम्बर ३ मा विशिष्टिकृत अस्पताल बनाउने योजना बनाउन सुझाव दिँदै शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राख्न सके माडी मणिको रूपमा परिवर्तन हुनसक्ने बताउनुभयो ।
कार्यक्रममा बोल्दै गठबन्धन अन्तर्गत माओवादी केन्द्रका प्रदेशसभा उम्मेदवार ठाकुर प्रसाद ढकालले राष्ट्रिय निकुञ्जको ऐनमा देखिएको समस्या सम्बोधन गर्न संघर्ष गर्ने बताउँदै रिउ करिडोर बनाउन प्रयत्न गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।