

चितवन । दानकी देवीका रुपमा परिचित चितवनका बरिष्ठ समाजसेवी एवं पूर्वसांसद मैंयादेवी श्रेष्ठको गएराती निधन भएको छ ।

पार्किन्सन्स् रोगबाट पीडित रहनुभएका श्रेष्ठको ९४ बर्षको उमेरमा उपचारका क्रममा निधन भएको हो । विसं. १९८५ असोज ५ गते फूलपातीका दिन तनहुँको बन्दीपुरमा जन्मिएका दिवंगत बरिष्ठ समाजसेवीले आफ्नो जीवनकालमा कयौं दान गर्नुभएको छ ।

आजीवन अविवाहित रहनुभएका मैयादेवीले ओम शान्ति मैयादेवि ट्रष्ट र मैयादेवी ट्रष्टका नाममा करोडाैंका मूल्यका घरजग्गा र नगद राखेर अक्षय कोष स्थापना गर्नुभएको छ । उहाँले भरतपुरमा मैयादेवी कन्या कलेज स्थापना गर्नुभयो भने बालकुमारी कन्या स्कूललाई १० कठ्ठा जग्गा दान दिनुभयो ।

दिवंगत श्रेष्ठले दानस्वरुप दिनुभएको जमीनमै अहिले काठमाडौंमा नेपाल तरूण दलको केन्द्रीय कार्यालय, कांग्रेसको चितवन जिल्ला कार्यालय, प्रेस युनियन चितवनको भवन, मानव सेवा आश्रम भरतपुर शाखाको निर्माणाधीन भवन रहेका छन् ।
२००३ सालमा वीपी कोइरालाबाट कांग्रेसको सदस्यता लिनुभएका दिवंगत श्रेष्ठ ०४८ सालमा गोरखा क्षेत्र नः २ बाट निर्वाचित साँसद, ०६२/०६३ को जनआन्दोलनपछि पुनस्र्थापित संसदमा साँसद र २०५६ सालमा राष्ट्रिय सभा सदस्य रहनुभएको थियो । उहाँप्रति हार्दिक श्रद्धाञ्जली ।