चितवन । माडीको घोसरीमा गएराती जीवन नेपालीको हत्या गरेका गैंडाकोटका सुरेश बहादुर कुमालले यसअघि आफ्नै हजुरआमा र काकीलाई पनि मारेको खुलेको छ ।
करीब १० बर्षअघि आफ्नै हजुरआमा र काकीलाई मारेको कसुरमा नवलपरासी जिल्ला अदालतको आदेशले सर्वस्व सहित जन्मकैद भुक्तान गरेका उनी गत २०७९ सालको संविधान दिवसको अवसरमा कैद मिनाहा भई छुटेको पाइएको हो ।
उनी कारागारमा रहँदा कारागारमा राखिएका मृतक जीवन नेपालीसंग चिनजान भएकोमा छुटेर आएपछि करीब दुई महिनादेखि उनी जीवन नेपालीको माडीस्थित घरमा नै बस्दै आएका थिए ।
शुक्रबार राती जीवनलाई पटक पटक खुकुरी प्रहार गरी र घाँटीको रुद्रघण्टीको भागमा रेटी बिभत्स हत्या गरेपछि उनले सोही स्थानमा बस्ने बर्ष ४० की रुपा नेपालीको घरमा समेत गई घरकोठामा सुती रहेकी नेपालीले कानमा लगाएको सुनको रिङ कानको लोती समेत च्यातिने गरी लुछेर रुपाको घाँटी थिचेको पनि खुलेको छ ।
रुपा मरेका भन्ने लागेपछि उनी त्यहाँबाट फरार भई बसन्तपुर आएकोमा इनारबरुवाबाट पक्राउ परेका हुन् । उनलाई जिल्ला प्रहरी कार्यालयको हिरासत कक्षमा राखी थप अनुसन्धान भइरहेको चितवन प्रहरीले जनाएको छ ।