चितवन । लोकतान्त्रिक बाम गठबन्धन नाम दिइएको पाँचदलीय गठबन्धनले माडीको बसन्तपुरमा प्रदेश तथा नगर कार्यालय स्थापना गरेको छ ।
नेपाली काँग्रेसका चितवन ३(ख) प्रदेश सभापति शोभाखर चापागाईंको अध्यक्षतामा सञ्चालित कार्यक्रममा नेकपा (माओवादी केन्द्र)का पोलिटब्युरो सदस्य सुर्य सुवेदी पथिकले रिबन काटी कार्यालय उद्घाटन गर्नुभएको हो ।
कार्यक्रममा भरतपुर महानगरपालिका प्रमुख एवं माओवादी केन्द्रका नेता रेनु दाहाल, कांग्रेस चितवनका उपसभापति राजिव न्यौपाने, नेकपा (एकीकृत समाजवादी)का प्रदेश सदस्य नारदमणि पौडेल सहित गठबन्धन दलका केन्द्रीय, प्रदेश, जिल्ला र स्थानीय स्तरका नेता कार्यकर्ताहरु सहभागी रहेका थिए ।
माडी नगरपालिकाको भुगोल समेटिने गरि कार्यालय सञ्चालनमा आएको हो । त्यस्तै माडीका केहि वडाहरुमा पनि गठबन्धनको सचिवालय स्थापना भएको माडीस्तरीय गठबन्धनका संयोजक कोमलनाथ भुसालले जनाउनुभयो ।
गठबन्धनबाट प्रतिनिधिसभा चितवन-३ मा माओवादी केन्द्रका डा. भोजराज अधिकारी र ३ (ख) प्रदेशमा ठाकुर ढकाल चुनावी मैदानमा रहनुभएको छ ।