चितवन । भारतमा नोकरी गरेर कमाएको सम्पूर्ण कमाई हिनामिना पार्दै छोराछोरीसहित श्रीमती बेपत्ता भएसंगै माडीको खरकट्टा गाउँ निवासी रामहरि सार्की यतिबेला बाँच्नु न मर्नुको अवस्थामा पुग्नुभएको छ ।
माडी नगरपालिका-८, खरकट्टा (जीवनपुर) निवासी रामहरिका ३५ बर्षिया श्रीमती फुलमाया सार्की १० वर्षकी छोरी रश्मी अछामी र छोरा रुबिन अछामी सहित बेपत्ता भएका हुन् ।
विगत एक वर्षदेखि भारतमा रोजगारीमा रहनुभएका रामहरि गत कार्तिक ४ गते नेपाल घर आउनुभएको हो । घर फर्किने क्रममा बाटोमै रहँदा ३ गते साँझसम्म श्रीमतीसँग फोनमा कुराकानी भएको र त्यसपछि मोबाइल बन्द भई हालसम्म सम्पर्क र भेट हुन नसकेको उहाँले बताउनुभयो ।
सम्पर्कविहीन भएयता आफन्त, छरछिमेक र सम्भाव्य ठाउँमा निरन्तर खोजी गर्दा पनि श्रीमती र छोराछोरी पत्ता लाग्न नसकेको उहाँको भनाई छ । बेपत्ता श्रीमती र छोराछोरीको खोजीका लागि उहाँले माडी प्रहरी समक्ष निवदेन दिनुभएको छ ।
रामहरिका आफन्तहरुले भने फुलमाया अर्कैसंग भागेको आशंका गरेका छन् । हराएका श्रीमती र छोराछोरीको फोटो देखाउँदै रामहरिले उनीहरु फेला परे नजिकको प्रहरी या आफन्तकहाँ खबर गरिदिन आग्रह गर्नुभएको छ । (तस्वीरमा रामहरिका श्रीमती र छोराछोरी)