चितवन । माडी नगरपालिकाको कार्यपालिका बैठकले उच्च शिक्षा अध्ययनरत सबै विद्यार्थीहरुको यातायात सेवा निःशुल्क गर्ने निर्णय गरेको छ ।
आइतबार सम्पन्न नियमित कार्यपालिका बैठकले ‘लक्षित वर्ग यातायात सहुलियत सम्बन्धी कार्यविधी, २०७९’ पारित गर्दै माडी क्षेत्रमा उच्चशिक्षा अध्ययनरत सबै विद्यार्थी र प्राविधिक शिक्षालयमा अध्ययनरत सबै प्रशिक्षार्थीहरुलाई यातायात सेवा निःशुल्क गर्ने निर्णय गरेको हो ।
सार्वजनिक बसमा यात्रा गर्ने विद्यार्थीहरुको हकमा यो लागु हुने नगर कार्यपालिका प्रवक्ता डण्डपाणी पौडेलले जानकारी दिनुभयो । सार्वजनिक बस नपुग्ने स्थानका विद्यार्थीहरुका लागि भने अनुदानमा साइकल प्रदान हुने उहाँले जनाउनुभयो ।
त्यस्तै, बृद्धबृद्धाहरुलाई माडी नगर क्षेत्रभर यातायात सेवामा आधा शुल्क मात्रै लाग्ने र र अपांगहरूलाई यातायात सेवा निःशुल्क गर्ने पनि निर्णय रहेको प्रवक्ता पौडेलको भनाई छ । यी सबै निर्णयहरु पौष १ गतेबाट कार्यान्वयनमा आउने जनाइएको छ ।