चितवन । कीर्तनपुर बजारदेखि गोपालनगर गौरीनगर जाने निर्माणाधीन बाटो अत्यधिक धुलाम्य भई जनजीवन प्रभावित भएको गुनासो सहित स्थानीयबासीहरुले माडी-७ वडा कार्यालयमा धर्ना दिएका छन् ।
कालोपत्रेका लागि बर्षायाम अगावै सबबेस राखेपनि त्यसयता, लामो समयसम्म निर्माण कार्य अलपत्र परेको सो बाटोमा अत्यधिक धुलो उड्दा वायु प्रदूषण बढेर जनस्वास्थ्यमा प्रतिकूल असर परेको र मुख्यतः कीर्तनपु्र आधारभूत विद्यालयका विद्यार्थीहरु झनै बढी प्रभावित भएको गुनासो सहित प्रभावित क्षेत्रबासीहरु वडा कार्यालयमै पुगी सामुहिक रुपमा ज्ञापन पत्र बुझाएका हुन् ।
कालोपत्रे कार्य तत्कालै सुरुवात गराउन र सो काम सुचारु नहुँदासम्म सो बाटोमा दैनिक कम्तीमा २ पटक पानी छर्किने व्यवस्था गरिदिन स्थानीयबासीको माग रहेको थियो । माग सुनुवाई नभए वडा कार्यालयमा तालाबन्दी गरी सडकबाट सेवा दिन लगाउने स्थानीयहरुको चेतावनी थियो ।
ज्ञापन पत्र बुझेसंगै वडाध्यक्ष चन्द्र कुमारी बानियाँले सकारात्मक पहलकदमीका लागि सबैलाई धन्यवाद ज्ञापन गर्दै निर्माण पक्ष र नगर कार्यपालिकासंग समन्वय गरी तत्कालै समाधानको खोजी गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । निर्माण पक्षसंग सम्पर्क भईसकेको भन्दै उहाँले केहि दिनमै काम सुचारु हुने पनि बताउनुभयो ।