चितवन । माडीको बरुवा बजारस्थित रेवेश्वर शिव मन्दिरमा नियमित पूजा अर्चना सुरु भएको छ ।
गतबर्ष गजुर भत्किनाले पूजाअर्चना रोकिएको सो मन्दिरमा नयाँ गजुर निर्माण एवं पक्की संरचना बनाएर रंगरोगन समेत गरी शुक्रबारबाट नित्य पूजा अर्चना सुचारु गरिएको हो ।
नियमित पूजा अर्चनाको सुरुवातको सन्दर्भमा वैदिक ब्राह्मणहरुबाट रेवेश्वर शिव भगवानको क्षमा पूजा गरि लघुरुद्री समेत गरिएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष पण्डित रामजी सापकोटाले जानकारी दिनुभयो ।
करीब पाँच दशकअघि तात्कालीन सामाजिक अगुवा हरिबिलाश पन्तले दानस्वरुप दिनुभएको जमीनमा मन्दिर स्थापना भई पूजाअर्चना थालिएको बरुवाका सामाजिक अगुवा छबिलाल भट्टराईको भनाई छ ।
हाल सो मन्दिरको छेवैमा कलात्मक राधाकृष्ण मन्दिरको निर्माण जारी रहेको र अन्य केहि संरचनाहरु तयार गरी संस्कृत गुरुकुल सञ्चालनको योजना रहको मन्दिरका संस्थापक मध्येका अगुवा समेत रहनुभएका भट्टराई बताउनुभयो । मन्दिरमा हाल माडीसंगै विभिन्न स्थानबाट श्रद्धालु भक्तजनहरु पूजा अर्चनाका लागि पुग्ने गरेका छन् ।