चितवन । नेकपा (एकीकृत समाजवादी)का बागमती प्रदेश सदस्य नारदमणि पौडेलले नेकपा एमालेलाई मोटो बुढो गाईको संज्ञा दिनुभएको छ ।
स्वदेश एफ.एम.संगको कुराकानीमा समाजवादी नेता पौडेलले मोटो बुढो गाईले दुध पनि नदिने र मासु खान पनि नमिल्ने भएजस्तै एमाले सरकारमा जान पनि नमिल्ने र हार पनि नस्वीकार्ने अवस्थामा रहेको बताउनुभएको हो ।
एमाले सच्चिनुपर्ने र बामपन्थी एवं गणतन्त्रबादीहरु एकजुट हुन आवश्यक रहेको उहाँको भनाई थियो । दलहरुप्रतिको असन्तुष्टीको मत राष्ट्रिय स्वतन्त्र पार्टीलाई गएको भन्दै उहाँले दलहरु सुध्रिए अवस्था फरक हुनसक्ने जिकिर गर्नुभयो ।
चुनाबमा हार भए आफूहरुले बिष पिएसरह हुने भन्नुको अर्थ पार्टीले २०५६ सालमा नेकपा मालेले ल्याएजस्तो नजिता आए बिष खाएसरह हुनु हो भन्ने प्रष्ट्याउँदै उहाँले देशभर १९ सिटमा उम्मेदवार उठाएकोमा १० ठाउँमा जित्नु सफलता र ईस्युका हिसाबले सबैभन्दा सफल पार्टी भएको उहाँको दाबी थियो ।