चितवन । नेकपा एमाले माडी नगर कमिटिका सचिव श्रीप्रसाद दवाडीले चितवन ३ मा स्वतन्त्र उम्मेदवारलाई समर्थन गर्दा पार्टीले क्षती व्यहोर्नु परेको बताउनुभएको छ ।
स्वदेश एफ.एम.को कार्यक्रम आजको सन्दर्भमा कुराकानी गर्दै एमाले नेता दवाडीले गत निर्वाचनको मतपरिणामले सबैलाई राम्रो पाठ सिकाएको भन्दै आफ्नै उम्मेदवार नहुँदा क्षती भएको बताउनुभएको हो ।
चितवन क्षेत्र नं. ३ मा रामप्रसाद न्यौपानेको उम्मेवारी फिर्ता हुँदा सुरुमा कार्यकर्तालाई बुझाउनै समय लागेको र प्रतिनिधि सभामा पार्टीकै चिन्हमा उम्मेदवार नहुँदा प्रदेशसभामा पनि पराजय व्यहोर्नु परेको उहाँको भनाई थियो ।
एमाले अध्यक्ष ओलीले संसद बिघटन गर्दाकै समयमा चुनाब भएको भए स्वतन्त्र उम्मेदवार र पार्टीहरु आउने थिएनन् भन्दै दवाडीले पाँच दलको घेराबन्दीका कारण प्रत्यक्षतर्फ केहि क्षती भएपनि समानुपातिकमा पहिलो भएकाले एमाले कमजोर नरहेको बताउनुभयो ।