चितवन । ‘समृद्धिका लागि युवा अभियान माडी’ नामको नयाँ अभियान सुरुवात गर्दै माडीका अगुवा युवाहरुले ढिलासुस्ती, भ्रष्टाचार र वेथिती बिरुद्ध खबरदारी बढाएका छन् ।
माडी १ का पूर्व वडाध्यक्ष कृष्ण पौडेल, माडी ५ का पूर्व वडाध्यक्ष रामबन्धु पोखरेल, युवा नेता रामचन्द्र लम्साल र युवा साहित्य सर्जक एवं शिक्षक बिपिन पाठकको पहलमा सामुहिक नेतृत्वको अवधारणा अनुरुप सो अभियान सुरुवात भएको हो ।
माडी क्याम्पसमा सम्पन्नअभियानको प्रारम्भीक भेलाले नगर क्षेत्रमा निर्माणाधीन अवस्थामा अलपत्र रहेका पुलहरु, परुई बगहीँ खण्डको हुलाकी सडक, बघौंडा अस्पताल भवन र मगोई सिंचाई आयोजनामा तत्कालै निर्माण कार्य सुचारु गराउन सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ ।
तत्कालै निर्माण कार्य सुचारु नभए सम्बन्धित निर्माण व्यवसायीको फोटो चोकचोकमा टाँसेर नैतिक दबाब दिने अभियानको तयारी छ । त्यसैगरी माडीबाट युवा पलायन रोक्न पहल तथा निकुञ्ज ऐन शंसोधन गराउन दबाबमूलक कार्यक्रम पनि गर्ने अभियन्ताहरुको भनाई छ ।