चितवन । पछिल्लो समय विद्यालय तहमा अध्ययनरत किशोरकिशोरीहरु बाल यौन दुर्व्यवहारमा पर्नुका साथै लागुपदार्थ दुर्व्यसनीमा फँस्ने क्रम बढेकोमा सोको न्यूनीकरणका लागि विद्यालयस्तरमा पाठ्यक्रम लागू भएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनले तयार पारेको पाठ्यपुस्तक जिल्लाका सबैजसो स्थानीय तहमा लागु हुने क्रममा माडी नगरपालिकामा पनि लागू भएको हो ।
माध्यमिक तहका विद्यार्थीहरुलाई सामाजिक शिक्षाको पुरक पुस्तकका रुपमा लागू गरिएको सो सन्दर्भ सामग्री (पाठ्य पुस्तक)मा लागुऔषध दुर्व्यसनी, धुम्रपान, मद्यपान, साइबर अपराध, सामाजिक सञ्जालको गलत प्रयोग, महिला तथा बालबालिकाहरु बिरुद्ध हुने अपराधहरु, अन्य सामाजिक अपराध, घरेलु हिंसा र करणी सम्बन्धी कसुर लगयतका अध्ययन सामग्री रहेका छन् ।
त्यसैगरी आत्महत्याको संकेत र बचाउने उपाय, घटनास्थलको सुरक्षा, आत्मरक्षा र बच्ने उपायहरु, बिपद् जोखिम र न्यूनिकरणका उपायहरु, प्रहरी चारित्रिक प्रमाणपत्र, असल मानिसका कर्तव्य र जिम्मेवारीहरु जस्ता पाठ्य सामग्रीहरु समेत रहेका छन् ।
नगर क्षेत्रका संस्थागत र सामुदायिक दुबैथरी विद्यालयका माध्यमिक तहका विद्यार्थीहरुलाई शैक्षिक कार्यक्रम अन्तरगत पढ्नैपर्ने बिषय बनाई घर, विद्यालय, समुदाय र अन्यत्र हुने अपराध न्यूनिकरणमा सहयोग गर्न नगरपालिकाको बजेट खर्चमा सो पाठ्यपुस्तक तयार भएको हो ।