चितवन । माडीका युवाहरुले सुरुवात गरेको ‘समृद्धिका लागि युवा अभियान’ले माडीका नगरप्रमुख ताराकुमारी काजी महतोसंग भेट गरी विकास निर्माणका काममा भएगरेका ढिलासुस्तीबारे छलफल गरेको छ ।
अभियानका अगुवाहरु कृष्ण पौडेल, रामबन्धु पाख्रेल, रामचन्द्र लम्साल र बिपिन पाठकले नगरभित्र सार्वजनिक भौतिक संरचना निर्माणको ठेक्का लिई ढिलासुस्ती तथा कार्य प्रारम्भ नगरेका ठेकेदारबारे नगरप्रमुख महतोसंग छलफल गर्नुभएको हो ।
सोही सन्दर्भमा नगरप्रमुख महतोले ठेकदार कम्पनीहरुलाई फोन सम्पर्क गरी शुक्रबारसम्म सम्पर्कमा आई काम सुरु गर्न ताकेता गर्नुभएको थियो । त्यस्तै, युवाहरुले शुक्रबारसम्म सम्पर्कमा नआउने ठेकेदार कम्पनीलाई जनस्तरबाट दबाबमुलक कार्यक्रम सञ्चालन गर्ने जनाएका थिए ।
भेटका क्रममा युवा अभियन्ताहरुले माडी नगरपालिकाले सामान खरिद गर्दा सम्भव भएसम्म स्थानीय बजारबाट नै खरिद गर्न पनि आग्रह गरेका थिए । युवाहरुले नगर उपप्रमुख खेम प्रसाद महतोसंग फोनमार्फत र प्रमुख प्रशासकीय अधिकृत पुष्पराज ढकालसंग प्रत्यक्ष भेट गरी अभियानको बारेमा जानकारी गराएको जनाइएको छ ।