चितवन । पूर्वी माडीको विद्रूप सडक एवं पुल निर्माण पूर्णताको दवाबका लागि गठित सरोकार समितिले माडीका नगरप्रमुखसंग ‘सरोकार भेट’ गरेको छ ।
मंगलबार नगरप्रमुख ताराकुमारी काजी महतोलाई सरोकार पत्र बुझाउँदै हुलाकी सडक तथा पुल सरोकार समितिका संयोजक नारदमणि पौडेल, सह-संयोजक महदत्त काफ्ले एवं सचिव प्रेम प्रसाद आचार्य सहितका पदाधिकारीहरुले सडक तथा पुल निर्माण कार्य गराइदिन अनुरोध गरेको हो ।
पूर्वी माडीमा हुलाकी सडक निर्माण गर्ने सन्दर्भमा, भएको कालोपत्रे पनि ५ वर्षअघि भत्काएर धुलाम्य छाडिदिँदा स्थानीयमा श्वास प्रश्वास तथा फोक्सोको बिरामीको संख्या बढेको, बाटोमा ठूला खाल्डा भएकाले सवारी साधन चल्नमा समस्या आएको, लडेर घाइते समेत हुनेगरेको पत्रमा उल्लेख रहेको छ ।
त्यसैगरी केहि खोलाहरुमा पुल निर्माण पुरा नहुँदा आवागमनमै समस्या परिरहेकाले त्यसको निर्माणमा पनि ताकेता गर्न समितिले अनुरोध गरेको हो । निर्माण कार्य तत्कालै सुचारु नभए गम्भीर ढंगले संघर्षका कार्यक्रम गर्ने समितिले जनाएको छ ।