चितवन । चितवन राष्ट्रिय निकुञ्जभित्र सुविधाप्राप्त बाटो अन्तरगत बनकट्टा ध्रुब खण्डमा पुनः ध्रुबे हात्तीको त्रास बढेको छ ।
मंगलबार भरतपुरबाट माडी आइरहँदा बनकट्टा पोष्ट नजिकै ध्रुबे हात्तीले एक मोटरसाइकललाई कुल्चेर क्षती गरेको छ । हात्तीसंग जम्काभेट भएलगत्तै चालकले मोटरसाइकल छाडी भागेर ज्यान बचाएका थिए ।
क्षतीग्रस्त मोटरसाइकललाई बनकट्टा पोष्टका सेनाको सहयोगमा जंगलबाहिर ल्याइएको हो । हात्तीले मोटरसाइकलमा सवार अन्य यात्रुहरुलाई पनि लखेट्ने प्रयास गरेको निकुञ्ज पार गरेका अन्य यात्रुहरु बताउँछन् ।
ध्रुबे हात्तीले २०६६ सालयता १५ बढीको ज्यान लिइसकेको छ भने सयौं घर भत्काई क्षती गरेको छ । लगातार जनधनको क्षती गरिरहेको सो हात्तीलाई मार्न जनस्तरबाट व्यापक दबाब रहेपनि निकुञ्जले रेडियो कलर जडान गरी निकुञ्जमै छाडेको छ ।