चितवन । पछिल्लो एक दशकदेखि माडीबाट पत्रकारितामा सक्रिय देव नारायण शाहलाई ‘ग्रामीण सञ्चार सेवा सम्मान-२०२२’ बाट सम्मानित गरिएको छ ।
अमेरिकाको क्यालिफोर्नियास्थित एन.आर.एन.ए. ननरेसिडेन्ट नेपाली एशोसिएसनले मिडियाकर्मी शाहलाई सो सम्मान गरेको हो ।
माडी भिलेज रिसोर्टको सभाहलमा बामगती प्रदेशसभा सदस्य निर्वाचित ठाकुर प्रसाद ढकाल र माडी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुष्पराज ढकालले पत्रकार शाहलाई पुरस्कारको ताम्रापत्र हस्तान्तरण गर्नुभएको हो ।
पुरस्कार ग्रहणका क्रममा बोल्दै सञ्चारकर्मी शाहले पत्रकारितामार्फत सुशासन, सुचना, शिक्षा, अभिप्रेरणा र समाज विकासमा भइरहेको योगदानको कदर हुँदा थप अगाडि बढ्ने हौसला मिलेको बताउनुभएको थियो ।
त्रिभुवन विश्वविद्यालयबाट पत्रकारिता बिषयमै स्नातकोत्तर उत्तीर्ण शाह चितवनको माडीमा सामुदायिक रेडियो माडीको स्थापना र संस्थापनामा नेतृत्वदायी रहनुभएको थियो ।
हाल उहाँ स्वदेश एफ.एम.को अध्यक्ष र स्वदेशपोष्ट अनलाइनको सम्पादक तथा सार्वजनिक सुनुवाई सहजकर्ता र मिडिया प्रशिक्षकका रुपमा पत्रकारितामा सक्रिय रहनुभएको छ ।