माडीमा अवरुद्ध हुलाकी सडक र पुल निर्माण कार्य अगाडि बढाउन निर्माण व्यवसायीहरु तयार भएका छन् ।
माडी नगरपालिकाको आयोजना र नगरप्रमुख ताराकुमारी काजी महतोको संयोजनमा नगर कार्यपालिका कार्यालयमा सम्पन्न बहुपक्षीय बैठकबाट पुल र हुलाकी सडक निर्माण कार्य अगाडि बढाउन सहमती जुटेको हो ।
बैठकमा चितवन राष्ट्रिय निकुञ्ज तथा हुलाकी सडक आयोजना कार्यालयका उच्च अधिकारीहरु एवं पुल र सडक निर्माणको ठेक्का लिएका निर्माण व्यवसायीहरु सहभागी रहेका थिए । त्यस्तै, क्रियाशील राजनैतिक दल, दबाब समूह, मिडिया र नगरपालिकाका जनप्रतिनिधीहरुको समेत सहभागिता रहेको थियो ।
निकै चर्काचर्की र घोचपेच समेत भएको बैठकबाट हुलाकी सडक आयोजनाले निकुञ्जसंग आवश्यक समन्वय गर्ने तथा निर्माण पक्षले काम अगाडि बढाउने सहमती भएको हो । सहमती अनुसार निर्माण पक्षले पौष २५ गतेभित्र निर्माण कार्य सुचारु गर्ने र असार मसान्तभित्रै निर्माण कार्यहरु पुरा गर्ने रहेको छ ।