चितवन । विश्व सम्पदा सुचीमा रहेको चितवन राष्ट्रिय निकुञ्ज अन्तरगत बनकट्टा र कसरा पोष्टमा पक्की शौचालयको अपर्याप्तता देखिएको छ ।
भरतपुर माडी ठोरी हुलाकी सडक रुट भएर चल्ने झन्डै दिनमा ७०० भन्दा बढी साना तथा ठूला सवारी साधनहरु आवतजावत गर्ने गर्छन् । यात्रा गर्ने यात्रुहरु पर्याप्त र ब्यबस्थित शौचालयको अभावमा समस्यामा पर्ने गरेका हुन् । निकुञ्ज प्रवेश पोष्टहरुमा जस्तापाता र टिनको बार लगाएर बनाइएका पिसाब घरहरु पनि पानीको व्यवस्था नहुँदा अति नै दुर्गन्धित भएका छन् ।
शौचालयको राम्रो व्यवस्था नहुँदा जथाभावी हुने दिसापिसाबले बाताबरणमा नराम्रो असर पार्ने देखिन्छ । अन्तर्राष्ट्रिय स्तरमै ख्याति कमाएको चितवन राष्ट्रिय निकुञ्जका पोष्टमा दिसापिसाबका लागि ब्यवस्थित पक्की शौचालयको अभाव हुनुले निकुञ्जकै बेइज्जती भइरहेको देखिन्छ ।
जथाभावी हुने दिसापिसाबले वरपरको वातावरण दुर्गन्धित हुनुका साथै विभिन्न प्रकारका रोगहरु लाग्न सक्ने हुँदा यसप्रति सम्बन्धित निकायले ध्यान दिनु जरुरी रहेको यात्रुहरुको सुझाव छ ।