चितवन । हुलाकी राजमार्ग निर्देशनालयले माडीमा समयमा काम सम्पन्न गर्न नसकेका निर्माण कम्पनीहरुसँग स्पष्टीकरण सोधेको छ ।
निर्देशनालयले एक सूचना जारी गर्दै विभिन्न पुलहरूको काम समय सम्पन्न गर्न नसकेका निर्माण व्यवसायीसँग तीन दिनको समयसीमा तोकी स्पष्टीकरण सोधेको हो ।
निर्देशनालयका अनुसार चितवनको माडी-ठोरी सडकखण्डमा घाँघर खोला पुल बनाइरहेको सपना-लोहनी जेभी र पतरे खोला पुलको जिम्मा पाएको लोहनी एण्ड ब्रदर्ससँग स्पष्टीकरण माग गरिएको छ ।
यी निर्माण कम्पनीहरुले सूचना जारी भएको तीन दिनभित्र निर्माणस्थलमा काम सुरु नगरेमा ठेक्का तोड्न प्रक्रिया समेत थालिने निर्देशनालयले जनाएको छ ।
यसअघि, गत विही माडी नगरपालिका कार्यालयमा सम्पन्न बहुपक्षीय छलफलका क्रममा पुल निर्माण कार्य चालू आर्थिक बर्षभित्रै सम्पन्न गर्न ठेकदार पक्ष सहमत भएको थियो ।
त्यसअघि, समृद्धिका लागि युवा अभियान माडीले सडक तथा पुलको ठेक्का लिएर काम अलपत्र पार्ने निर्माण कम्पनीका प्रमुखहरुलाई दबाब दिने उद्देश्यले सार्वजनिक स्थानमा ‘ठेकेदार हराएको सूचना’ टाँसेका थिए । (फोटोः अलपत्र पतरे खोला पुल)