चितवन । माडीका दर्जनौं व्यक्तिबाट करोडौं पैसा लिइ सम्पर्क बिहीन होटल सञ्चालक खनाल परिवार पाँच महिना पुगिसक्दा पनि भेटिएको छैन ।
माडीको बसन्तपुर बजारमा अशोक होटल एण्ड लजको नामबाट होटल व्यवसाय सञ्चालक रहेका रुद्र खनाल, उनका श्रीमती लक्ष्मी खनाल, छोरा अशोक खनाल र छोरी अस्मिता खनाल गत भदौ २४ गतेदेखि सम्पर्क बिहीन रहेका हुन् ।
सो परिवारले विभिन्न मितिमा फरक फरक बहानामा दर्जनौं व्यक्ति र केहि वित्तिय संस्था समेतबाट रकम लिई सम्पर्क बिहीन भएको भन्दै चितवन प्रशासनमा उजुरी परेको छ, तर खोजी कार्यमा प्रहरी र प्रशासनले कुनै उपलब्धी पाएको देखिएको छैन ।
सम्पर्क बिहीन खनाल परिवारको स्वामित्वमा रहेको बसन्तपुर बजारस्थित होटल सहितको घरमा स्थानीयले ताला लगाई त्यसको चाबी माडी ३ वडा कार्यालयमा बुझाएका छन् । घरको स्याहार हुन नसक्दा धुलोमैलोले ढाक्न थालिसकेको छ ।
पैसा दिएका व्यक्तिहरुले आफ्नै प्रयासमा सम्पर्क विहीन परिवारको खोजी गरिरहेकै छन् । खनाल परिवार भारतमा लुकिछिपी बसिरहेको उनीहरुको भनाई छ । सो परिवार ढिलोचाँडो स्वदेश फर्किएर सम्पर्कमा आउने उनीहरुको आशा कायमै छ । (फोटोः सम्पर्कविहीन भएको खनाल परिवार)