चितवन । बसन्तपुर बजारमा सडक पेटी खुला राख्न सडक छेउको नालादेखि २ मिटर क्षेत्रमा ब्यापार व्यवसाय गर्न बन्देज लागेको छ ।
बसन्तपुर बजार टोल विकास समितिको आह्वानमा शनिवार सम्पन्न बहुपक्षीय बैठकले बजार क्षेत्रमा नाला रहेको ठाउँदेखि २ मिटरसम्म पेटी खाली राख्ने निर्णय गरेको हो ।
बजार क्षेत्रको मुख्य सडकसग अतिक्रमण भएका घर, टहरा, टिनका छाना तथा व्यवसायहरु हटाई बजार व्यवस्थित गर्ने प्रयासमा वडा, प्रहरी, उद्योग बाणिज्य संघ र अन्य सरोकारवालाहरु सहितको बैठकबाट सो निर्णय भएको जनाइएको छ ।
निणर्य कार्यानवयनको नियमित अनुगमन गर्न समितिका पदाधिकारी र प्रहरीलाई अनुरोध गर्ने पनि निर्णय गरिएको टोल विकास समितिका अध्यक्ष यमकुमार ल्वागुनले जनाउनुभयो ।
त्यसैगरी मोटरसाइकल र अटो पार्किङका लागि माडी मा.वि.को खुल्ला चौर उपलब्ध गराउन अनुरोध गर्ने र सबै घरधुरीले नियमित सरसफाई गर्ने पनि निर्णय गरिएको अध्यक्ष ल्वागुनले बताउनुभयो ।