चितवन । चितवन राष्ट्रिय निकुञ्ज प्रशासनले कसरा र बनकट्टा पोष्टमा माडीबाट भरतपुर जाँदा लैजान नपाउने सामानहरुको सुचना पाटी नराख्दा यात्रुहरूलाई समस्या भएको छ ।
निकुञ्ज रक्षक सेनाले भरतपुर जाँदा बाँसको तामा, अचार, न्युरो, कुचो घरमा पालिएको माछा तथा खसी बोकाको मासु लैजाँदा समेत यात्रुहरूलाई केरकार पार्ने र सामान रोक्ने गर्दै गरिआएको छ ।
त्यसैगरी, आफ्नै घरका फर्निचर तथा कुर्सी, टेबल, दराज, पलङ्ग तथा अन्य घरायसी बन्चरो, आँसी, अचानो जस्ता सामाग्रीहरु घरायसी प्रयोगका लागि लैजान समेत रोकतोक हुनेगरेको छ ।
यस प्रकारको रोकतोकका बिषयमा स्थानीय निकायले पहल नगरेकोप्रति यात्रुहरूले दुखेसो पोखेका छन् । निकुञ्जको बाटो हुँदै दैनिक सयौं साना तथा ठुला सवारीसाधनमा हजारौंले आवातजावत गर्ने गर्दछन् ।