चितवन । माडी-९ स्थित प्रस्तावित अयोध्याधाममा रहेको राममन्दिरमा हवन कुण्ड, मेस (भान्सा) घर र पुष्प क्यारी वाल निर्माण कार्य अगाडि बढेको छ ।
माडी-९ वडा कार्यालयद्वारा विनियोजित ७ लाख रुपैंया बजेटबाट राममन्दिर वरपर फुलको क्यारी, भान्साघर र पुजाको हवन कुण्ड निर्माण अगाडि बढेको वडाध्यक्ष घनश्याम दवाडीले जनाउनुभयो । केन्द्रबाट अपेक्षित बजेट नपाएपनि वडा कार्यालयले यथासम्भव प्राथमिकता दिई बजेट विनियोजन गरेको उहाँले बताउनुभयो ।
निकै तामझामका साथ भगवान श्रीरामको जन्मस्थानका रुपमा माडीलाई चिनाउँदै राम, सीता, लक्ष्मण र हनुमानको प्रस्तर मुर्ती प्रतिस्थापित रहेपनि संघीय र प्रदेश सरकारको पर्याप्त ध्यान नपुग्दा अपेक्षित काम हुन सकेको छैन ।
यस्तोमा, स्थानीय र वडाकै तहबाट भएपनि यथासम्भव निर्माण एवं प्रचारप्रसारको पहल लिइएको वडाध्यक्ष दवाडीको भनाई छ । मुर्ती स्थापना भएदेखि बेलाबखत पुजा र मेला उत्सव आयोजना हुने गरेको भएपनि डि.पि.आर. अनुसारको मन्दिर निर्माण कार्य भने सुरुवात हुनै बाँकी छ ।