माडी, चितवन । माडी नगरपालिकामा कर्मचारीले अटेर गरेको र बेथिति बढेको भन्दै केहि वडाध्यक्षहरुले कार्यपालिका बैठक रोकेका छन् ।
मुख्यतः नेकपा (माओवादी केन्द्र)बाट निर्वाचित वडाध्यक्ष तथा कार्यपालिका सदस्यहरुले नगर कार्यपालिकामा बेथिति बढेको, वडाध्यक्षहरुले भनेको कुरा कर्मचारीले अटेर भएको, कर्मचारीहरु कार्यकक्षमा नभेटिने गरेको तथा नियुक्ति वा जिम्मेवारीको भन्दा अरुनै काममा रहेको आरोप लगाउँदै कार्यपालिका बैठक रोकेका हुन् ।
उनीहरुले नगर-प्रमुख र नगर-उपप्रमुखले कार्यपालिकामा छलफल नगरी अधिकार क्षेत्रभन्दा बाहिर धेरै रकम बोल्दै हिँडेको तर पुरा गर्न भने नसकेको पनि आरोप लगाएका छन् ।
कार्यपालिकाको बैठक हुनुभन्दा २ दिनअघि नै छलफलका एजेण्डा थाहा हुनुपर्ने समेत आफूहरुले माग गरेको नगर कार्यपालिकाका प्रवक्ता समेत रहनुभएका वडाध्यक्ष डण्डपाणी पौडेलले बताउनुभयो ।
अघिल्ला कार्यपालिकाको बैठकका निर्णयहरु कार्यान्वयन नहुने गरेको अर्का वडाध्यक्ष गणेश कुमार विश्वकर्माले बताउनुभयो । शुक्रबार उठान भएका प्रश्नहरुको हल भएपछि मात्रै कार्यपालिका बैठक चल्ने उनीहरुको जिकिर छ ।