माडी, चितवन । माडीको सोमेश्वर क्षेत्रमा लागेको रामनवमी चैतेदशैं मेलामा यसबर्ष करीब ३ लाख श्रद्धालु भक्तजनहरुले पूजा एवं दर्शन गरेका छन् ।
सोमेश्वर गढी पूजा व्यवस्थापन समितिद्वारा आयोजित सो मेलामा हालसम्मकै सर्बाधिक दर्शनार्थीहरुको सहभागिता रहेको हो । गतबर्षभन्दा यसबर्ष दोब्बरभन्दा धेरै दर्शनार्थीहरुको आगमन भएको देखिएको पूजा व्यवस्थापन समितिका अध्यक्ष पिताम्बर पोखरेलले बताउनुभयो ।
सोमेश्वरको दर्शन गर्नेहरुमा ८५ प्रतिशत भारतीय र १५ प्रतिशत नेपालीहरु रहेको पूजा व्यवस्थापन समितिको आँकलन छ । भारतको बिहार, उत्तर प्रदेश, नयाँ दिल्ली र छत्तिसगढ सम्मबाट दर्शनार्थीहरु आएको भेटिएका थिए भने नेपालको पनि चितवनसंगै छिमेकी जिल्लाहरुबाट सबैजसो उमेर समूहका दर्शनार्थीहरुको सहभागिता रहेको थियो ।
यसबर्ष पूजा व्यवस्थापन समितिले सोमेश्वर कालीका मन्दिरसम्मै पानीको व्यवस्था, औषधी उपचारको प्रवन्ध, बजार व्यवस्थापन र पंक्तिबद्ध आवतजावतको प्रवन्ध मिलाएको थियो । तर दर्शनार्थीहरुको संख्या बढेसंगै मन्दिर वरपर दिशापिसाब र फोहोर भने बढेको देखिएको थियो ।
दर्शनार्थीहरुले कालीका मन्दिर दर्शन गरेसंगै नेपालभारत सीमाको ४५ नं. पिल्लरको अवलोकन, नेपालतर्फ प्रस्तर मुर्तीहरुको फुलबारी घुमफिर र केहि भारतीय दर्शनार्थीहरु माडी झरेर गोद्धकधाम क्षेत्रको दर्शन समेत गरेको भेटिएका थिए ।
दर्शनार्थीहरुको भीडभाड र ठेलमठेल बढ्दै जाँदा कालीका मन्दिर वरपर डाँडाको भागमा फलामे रेलिङ राखी सुरक्षाको उपाय अपनाउन जरुरी देखिएको छ । सोमेश्वर पूजा व्यवस्थापन समितिलाई सोमेश्वर क्षेत्र विकास प्रतिष्ठानका रुपमा संस्थागत गरी सोमेश्वरको पर्यटन विकासमा योजनाबद्ध काम गर्नुपर्ने आवश्यता बढेको देखिन्छ ।