माडीको प्रस्तावित वडा नं. १० हनुमानझुलामा नगरपालिकाको सेवा केन्द्र पुनर्स्थापित नहुँदा स्थानीय सेवाग्राही समस्यामा परेका छन् ।
गत साउन ८ गते सो सेवा केन्द्रमा कार्यरत एकमात्र कर्मचारी बबिता चेपाङको आकस्मिक मृत्यु भएसंगै बन्द हुन पुगेको थियो । केन्द्र बन्द रहेको ९ महिना बितिसक्दा पनि अझै सेवा केन्द्र पुनर्स्थापना भएको छैन ।
सेवा केन्द्र पुनर्स्थापित नहुँदा हरेक हप्ता ५० बढी सेवाग्राहीहरु दिनभरको समय व्यवस्थापान गरी अमुवा बगही खण्डको जंगलमा हात्ती लगायतका जनावरको उच्च जोखिम मोल्दै कम्तीमा १ हजार भन्दा बढी रकम खर्च गरी कृष्णनगरस्थित वडा कार्यालय वा बसन्तपुरस्थित नगर कार्यपालिका कार्यालयमा आउनुपर्ने बाध्यता बनेको छ ।
हनुमानझुलालाई छुट्टै वडाका रुपमा मान्यता दिइनुपर्ने माग गर्दै स्थानीयले गरेको आन्दोलनको प्रभावस्वरुप दुई बर्षअघि सेवा केन्द्र स्थापना भएको थियो । सेवा केन्द्रका सबै सामानहरु ९ नं. वडा कार्यालयमा लगिएको स्थानीयबासी जगराम चेपाङले बताउनुभयो ।