उनको नाम भीम बहादुर गुरुङ हो, तर अचेल ‘भुइँकटहर बाजे’का नाउँले चर्चित हुन थालेका छन् ।
माडीको हनुमानझुलास्थित प्लट नं. ५ मा भुईंकटहरको ठूलै फार्म बनाएका भीमबहादुर आफ्ना बृद्धा श्रीमतीसहित संधैजसो भुईंकटहर फर्ममै खनिखोस्री गरिरहेका भेटिन्छन् ।
२०५८ सालमा भुईंकटहरका दुईवटा बिरुवाबाट गुरुङले सुरुवात गरेको ‘बाँदरझुले भुईंकटहर खेती’ अहिले पश्चिमी नेपालको सुर्खेतसम्मै पुगेको छ । भुईंकटहर खेतीबाट उनले ‘मनग्ग त होइन, जीवन जिउन पुग्ने आम्दानी भने गरेको’ बताउने गरेका छन् ।
बाँदरझुलाको ढुङ्गे माटो भुईंकटहर खेतीका लागि राम्रो रहेको र मलखाद पनि हाल्नु नपर्ने उनको अनुभव छ । तर जंगली बँदेल, दुम्सी र बाँदरहरुले भने निकै दुःख दिने गरेको उनको गुनासो छ ।
खेती गरिएको ठाउँमा काँडेतार लगाउन पाए जनावरहरुबाट पाउने दुःखमा केहि कमी हुनसक्ने उनको बुझाई छ । यसका लागि माडी नगरपालिका कृषि शाखाले आश्वासन दिएको भन्दै उनी ‘नगरपालिका आउने बाटो कुरिरहेको’ बताउँछन् ।
२०७९ बैशाखको स्थानीय निर्वाचनमा भरतपुरको महानगर प्रमुख पदमा जगन्नाथ पौडेल ‘भुइँकटहर छाप उम्मेदवार’का रुपमा चर्चित रहँदाको समयमा कृषक गुरुङलाई भेट्न आउने व्यापारी र बाहिरियाहरुले जुराइदिएको नयाँ नाम ‘भुईंकटहर बाजे’ अचेल उनको नयाँ परिचय बन्दै गएको छ ।